कृषि

कृषि तथा औद्यौगिक मेला चैत १५ देखि

विराटनगर । ‘बूढीगंगाको पहिचान हाम्रा अभियान’ नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको छ ।

मेला आयोजक समाज विकास केन्द्र नेपालद्वारा शनिबार यहाँ पत्रकार सम्मेलनमा यही चैत १५ देखि २५ गतेसम्म बूढीगंगा–३ गकुवा चौकमा आयोजना गरिने मेलामा ४९ वटा स्टल रहने जानकारी गराइयो । मेलामा मोरङ सुनसरी औद्योगिक क्षेत्रका उत्पादन, चाउचाउ, बिस्कुट, जुत्ता, चप्पल, कृषि यान्त्रीकरणका साथै झापा, इलाम, धनकुटा, भोजपुर लगायतका जिल्लाका घरेलु उत्पादन र कृषि उत्पादन बिक्री–वितरणका लागि राखिने केन्द्र अध्यक्ष नगेन्द्र मण्डल राजवंशीले बताए । मेलामा स्थानीय थारू, राजवंशीको मौलिक खाद्य परिकारका भक्का बगिया राखिने भएको छ ।

नेपालका लोकप्रिय साथै स्थानीय कलाकारको दैनिक सांस्कृतिक प्रदर्शन गरिने कला संयोजक रमेश भट्टराईले जानकारी दिए । मेला सञ्चालन गर्न रु ३८ लाख खर्च लाग्नेछ भने रु दुई करोड बराबरको विभिन्न सामग्री बिक्री–वितरण हुने अनुमान आयोजकले गरेको छ । यसअघि दुई पटक कृषि मेला आयोजना गरिएको मेलाका सल्लाहकार कुमार कोइरालाले बताए ।