साहित्य

नेपाल भाषाका महाकवि जोशीको शालिक अनावरण

काठमाडौँ । नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीको ८० औँ जन्म जयन्तीका अवसरमा शंखरापुर नगरपालिकाको साँखुमा निर्मित उहाँको शालिक अनावरण गरिएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीले आज आयोजित कार्यक्रममा स्वर्गीय जोशीको शालिक अनावरण गरेका हुन् ।

सो अवसरमा उहाँले नेपाल भाषाको श्रीवृद्धिमा स्वर्गीय जोशीले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै साहित्यकार जोशीको अल्पायुमै निधन भएपनि उहाँले नेपाल भाषामा कथा, काव्य, उपन्यास, नाटकलगायत विधाको साहित्य रचना गर्नुभएको बताए ।

महाकवि जोशीको सिलौटा (ल्वहमा) महाकाव्य शास्त्रीय सिद्धान्तमा आधारित भई रचना गरिएको पनि शताब्दी पुरुष जोशीले जानकारी दिए ।

स्वर्गीय जोशीका नेपाल भाषामा लेखिएका तीन दर्जनभन्दा बढी कृति प्रकाशित भएको उहाँका छोरा यचु जोशीले जानकारी दिए । स्वर्गीय जोशीको शालिक सक्व कृषि फार्मका संस्थापक इन्जिनीयर राजदास श्रेष्ठले निर्माण गराएको सो अवसरमा जानकारी गराइयो ।

सोहि अवसरमा नेपाल भाषाका कविद्वय मथुरा सायमी र दुर्गालाल श्रेष्ठले निर्मला श्रेष्ठ र भ्यालेन्टिना श्रेष्ठका नाममा निर्माण भएको पुस्तकालय (स्वफु कोठी) को उद्घाटन गरे ।

निर्मलाका नाममा निर्माण भएको पुस्तकालयमा नेपाल भाषाका र भ्यालेन्टिनाका नाममा निर्माण भएको पुस्तकालयमा विविध भाषाका पुस्तक संग्रह गरिएको छ । कार्यक्रममा शताब्दी पुरुष जोशीले दुवै साहित्यकारलाई सम्मान पनि गरे ।

कार्यक्रममा नेपाल र नेपाली भाषाको कविता प्रतियोगिता पनि आयोजना गरियो । नेपाल भाषाको कविता प्रतियोगितामा प्रेममान चित्रकार पहिलो, रामकृष्ण सिंह दोस्रो, भूपेन्द्रमान श्रेष्ठ तेस्रो, श्रीलक्ष्मी श्रेष्ठ र नरेन्द्रमान किपुले सान्त्वना पुरस्कार प्राप्त गरे । पुरस्कृतलाई क्रमशः रु पाँच हजार, चार हजार, तीन हजार र दुई/दुई हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो ।

यसैगरी नेपाली भाषाको उत्कृष्ट कविता सुनाएकामा कान्छाप्रसाद तिवारीलाई पनि रु पाँच हजार नगदसहित प्रमाण पत्र प्रदान गरियो । विसं १९९५ चैत्र कृष्ण द्वादशीका दिन साँखुमा जन्मनुभएका महाकवि जोशीको २०४४ साल भदौ २२ गते निधन भएको थियो ।