समाचार

विष्फोटको विरोधमा बन्द, मोर्चाले जिम्मा लियो

लहान । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो ।

उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि बजार, पसल बन्द भएको संघका अध्यक्ष सुनिल महतोले जानकारी दिए ।

तीन÷चार महिनादेखि पटक पटक उद्योगी तथा व्यापारीकेन्द्रित विष्फोट र आक्रमण बढेपछि सरकारी निकायलाई सचेत गराउन बन्दको आह्वान गरिएको अध्यक्ष महतोको भनाइ छ ।

“तीन चार महिनामा पटकपटक गरी चार पाँचवटा आक्रमण भए, तर सुरक्षा निकायले यसलाई गम्भीररुपमा नलिएकाले बाध्य भएर बजार पसल बन्द गरेर विरोध जनाएको अध्यक्ष महतोले बताए ।

व्यवसायीको सुरक्षाका लागि प्रशासनले ठोस कदम नचाले अझ सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने अध्यक्ष महतोले बताए ।

लहानबजारस्थित विकास ट्रेडर्समा शुक्रबार कुकर बम विष्फोट हुँदा सात वर्षीय बालकसहित आठजना घाइते भएका थिए ।

विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग लिन गएका आफ्ना कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गर्ने षडयन्त्र गरेकाले चेतावनीस्वरुप प्रेसर कुकर बम विष्फोट गराएको उल्लेख गरेका छन् ।