राजनीति

व्यवसायीलाई गुणस्तर मैत्री हुन मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम । केन्द्रीय सरकारले प्रदेश सरकारमाथि हस्तक्षेप गरी संघीयता विरोधी कार्य गरिरहेको प्रति चिन्ता व्यक्त गरिएको छ ।

प्रदेश नं २ निर्माण व्यवसायी महासंघको कार्यालय उद्घाटनका अवसरमा आज यहाँ आयोजित समारोहमा वक्ताहरूले सो चिन्ता व्यक्त गर्दै केन्दीय सरकारले जनकपुरधाममा भएका कार्यालय बर्दिवासमा सार्ने कार्य गरिहेकामा आपत्ति जनाएका छन् ।

प्रदेश सरकारलाई औचित्यहीन बनाउने कार्य बन्द गर्न आग्रह गर्दै केन्द्रीय सरकारले प्रदेशमा हुने निर्माण व्यवसायको कार्य प्रदेशकै व्यवसायीबाट गराउने ऐन, कानून र नियमावली निर्माणमा ध्यान दिनुपर्ने आवश्यकतामा उनीहरूले जोड दिए ।

कर्मचारीले अनेक बहाना गरी निर्माण व्यवसायीले दुःख दिने कार्य गरिरहेका कारण पनि गुणस्तरीय र समयमा कार्य सम्पन्न नहुने अवस्था विद्यमान रहेको प्रति उनीहरूले ध्यानाकर्षण गराए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यालयको उद्घाटन गर्दै व्यवसायीलाई गुणस्तर मैत्री हुन आग्रह गर्दै प्रदेशका कर्मचारी, व्यक्ति र मन्त्रीले बहानाका नाममा गुणस्तरीय कार्यको बाधक बनेमा त्यस्तालाई प्रदेश सरकारले दण्डित गर्ने बताए । प्रतिस्पर्धाका नाममा कम दरमा टेण्डर लिई गुणस्तरहीन र समयमा कार्य सम्पन्न नगर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उनले आग्रह गरे।

प्रदेशसभा सदस्य परमेश्वर साहले केन्द्रीय सरकारले संघीयता विपरीत कार्य गरी जनकपुरधामका कार्यालयलाई बर्दिवासमा सार्ने काम गर्नु दुःखद हो भने । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सरकारी ऐन, कानूनका कारण पनि गुणस्तरहीन कार्य भइरहेको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विनयभाइ श्रेष्ठले लागत र समयको वैज्ञानिक मापदण्ड निर्धारण हुनुपर्ने धारणा राखे । प्रदेश नं २ निर्माण व्यवसायी महासंघका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षतामा भएको सो समारोहमा वरिष्ठ निर्माण व्यवसायी हीरा भगतले सबै व्यवसायीले रोजगारी पाउने मैत्री कानून तथा वातावरण निर्माणको खाँचो औँल्याए ।