स्वास्थ्य

शिशुलाई छातीमा टाँसेर दूध चुसाउन खोजिरहनु …

विष्णु नेपाल/ रविओपी, काभ्रे । “मैले डाक्टरसँग कुराकानी गरेको छु । म कार्यक्रम सकिने बित्तिकै हिँड्छु । चिन्ता नलिनू । शिशुलाई छातीमा टाँसेर दूध चुसाउन खोजिरहनु …।”

महिला स्वयंसेविका रमा न्यौपाने सुत्केरी भएकी आफ्नी बुहारी उमिशा न्यौपानेलाई फोनमा जवाफ दिँदै थिइन् । उमिशाले शिरमेमोरियल अस्पताल बनेपामा दुई दिनअघि बच्चालाई जन्म दिएकी थिइन् । विस २०४६ देखि महिला स्वयंसेविकाका रुपमा सेवा दिइरहेकी अग्रणी महिला स्वयंसेविका रमाले खुशी हुँदै भनिन्, “ घरआँगनमै नयाँ स्वास्थ्य संस्थाको भवन बन्यो, उपकरण पनि भयो, नर्स पनि आउनुहोला, अब त सुत्केरी हुन धुलिखेल र बनेपा जानु पर्दैन ।”

अहिले गाउँको बीचमा रहेको रविओपी स्वास्थ्य चौकीले आधारभूत स्वास्थ्य सेवालाई आवश्यक भौतिक संरचना, उपकरण, औषधि र जनशक्तिजस्ता महत्वपूर्ण व्यवस्थाले कायापलट पारेको छ । पछिल्लो सयम यही कायापलट देखेकी महिला स्वयंसेविका न्यौपानेले सुनाइन्, “गाउँकै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भएको देख्ने धोको छ, यो पनि चाँडै पूरा हुन्छ ।”

विस २०७२ वैशाख महिनाको भूकम्पले सो स्वास्थ्य चौकी भवन क्षणभरमा गल्र्यामगुर्लुम ढाल्यो । नजिकैको प्रभात प्राविको साँघुरा दुई कोठाबाट सेवा शुरु भयो । दुई वर्षको अन्तरालमा स्वास्थ्य चौकीका लागि अत्याधुनिक नौकोठे प्री फ्याव भवन तयार भएको छ । उसो त स्वास्थ्य चौकीलाई सञ्चालन गर्न चाहिने सबै प्रकारका स्वास्थ्य सामग्रीसमेत यहाँ रहेका छन् ।

स्थानीयवासीसमेत रहेका चौकीका प्रमुख सिनियर अहेव नेत्रप्रसाद सापकोटा भन्छन्, “छिट्टै बर्थिङ सेन्टरसमेत सञ्चालनमा आउँछ, सुत्केरी हुन बनेपा र धुलिखेल जानुपर्ने अवस्था अन्त्य हुन्छ । घरआँगनमै आधारभूत गुणस्तरीय स्वास्थ्यसेवा जनताले पाउँदछन् ।” धुलिखेलबाट नजिक भएर पनि यो गाउँ स्वास्थ्य सेवाका दृष्टिले अझै दुर्गम नै बनेको छ ।

नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा स्वास्थ्य चौकीको नयाँ प्री फ्याव भवन, आवश्यक सामग्री एवम् उपकरणको प्रबन्ध गरिदिएपछि रविओपीका बासिन्दा औधी रमाएका छन् ।

भूकम्पको त्रासदीलाई बिर्संदै पुनःनिर्माणमा समेत जुटिरहेका छन् । स्थानीय समाजसेवी बलराम कोइराला भन्छन्, “गाउँ बत्तीमुनिको अँध्यरोजस्तो बनेको छ, धुलिखेल, बनेपा शहरनजिक भएर पनि टाढा जस्तो बनेका छन्, स्वास्थ्य चौकीको नयाँ भवन, उपकरण त भए अब प्रयोगशाला, एम्बुलेन्स र चिकित्सकको दरबन्दीको व्यवस्था छिटोभन्दा छिटो हुनुपर्छ ।”

धमाधम स्वास्थ्य चौकीका प्रीफ्याव भवन स्थानीय सरकारलाई हस्तान्तरण हुँदै

यसैबीच, नेपाल रेडक्रसले भूकम्पले क्षति पुगेका काभ्रेका दुर्गम भेगका १२ स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण कार्य शुरु गरेको छ । सोसाइटीले निर्माण गरिरहेका रयाले, महेन्द्रज्योति, रविओपि, चन्डिनीमण्डन, ज्याम्दिमण्डन, खरेलथोक, सानोनाङथली, गोठापानी, पोखरीचौरी, वाल्टिङ, बनिखु, फालामेटार स्वास्थ्य चौकीमध्ये शुक्रबार रयाले, रविओपि र महेन्द्रज्योति स्वास्थ्य चौकीका प्री फ्याव भवन र उपकरण स्थानीय निकायका प्रतिनिधिलाई हस्तान्तरण सम्पन्न गरेको छ ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जिल्ला समन्वय समिति काभ्रेका संयोजक उद्धव केसीमार्फत शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा नवनिर्मित ती स्वास्थ्य चौकी भवनका साँचो स्थानीय वडाध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष थापाले भूकम्प अति प्रभावित १४ जिल्लामा सोसाइटीले अन्तर्राष्ट्रिय सहयोग जुटाएर आवास पुनः निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, आयआर्जन, जीविकोपार्जन, खानेपानी तथा सरसफाइका कार्यक्रम समुदायमा सञ्चालन भइराखेको चर्चा गर्दै आगामी दिनमा मानवीय सेवाका विविध क्षेत्रमा सोसाइटी अनवरत रुपमा जुटिरहने छ भने ।

सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकालले कार्यक्रमका गतिविधि पारदर्शी रहेको, स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार स्वास्थ्य चौकीका भवन तथा उपकरण जडान भएको जानकारी दिँदै सोसाइटीले निर्माणका लागि जिम्मा लिएका ३० वटा स्वास्थ्य चौकीमध्ये स्थानीय तहलाई हस्तान्तरणको क्रम जारी रहेको जानकारी दिए ।

स्वास्थ्य चौकीमा ताल्चा लागेको देख्न नपरोस्ः जनप्रतिनिधि

हस्तान्तरण समारोहमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भने, “स्वास्थ्य सेवा लिन आउनेले स्वास्थ्य चौकीमा ताल्चा लागेको देख्न नपरोस्, स्वास्थ्यकर्मी सयममा आएर सेवा दिनुहोस्, औषधि सकिएपछि मात्र हामीलाई जानकारी दिने होइन, नसकिँदै जानकारी दिनुहोस् । जनताले स्वास्थ्य सेवा पाएनौँ भन्ने गुनासा अब सुन्न सकिन्न ।”

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले अब स्वास्थ्य चौकीबाट दिने सेवामा जनताका गुनासा आउन दिन नहुने चर्चा गर्दै स्वास्थ्यकर्मीमा सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे।

धुलिखेल नगरपालिकाका उपप्रमुख विमलाकुुमारी चौलागार्इंले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको अधिकारलाई पूरा गर्न नरपालिकाले ध्यान दिएको चर्चा गर्दै स्थानीय स्वास्थ्य चौकीको सेवा प्रवाहमा चुस्त आउनुपर्छ भने ।

जिल्ला समन्वय समिति काभ्रेका संयोजक केसीले भूकम्प पुनःनिर्माण कार्यमा समन्वय समितिले अनुगमन तथा समन्वय गरिराखेको चर्चा गर्दै आफूले पुनःनिर्माणमा जिम्मा लिएका कार्यलाई समयमा पूरा गर्न आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश अधिकारी र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेन्द्र चौरासियाले स्वास्थ्य सस्था सञ्चालन स्थानीय निकायमा हस्तान्तरण भइसकेको हुँदा अब मन्त्रालयले समन्वयकारी र जनशक्ति व्यवस्थापनमा ध्यान दिने बताए ।

रेडक्रस तथा रेडक्रिसेन्टको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रतिनिधि जुजा किम तथा कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनी किमले नेपाल रेडक्रसमार्फत मानवीय सेवाका लागि सहयोग जारी रहने जानकारी दिए ।

सोसाइटीका काभ्रे अध्यक्ष रघुवर चौप्रधान, मन्त्री उद्धव पौडेल, भूकम्प प्रतिकार्य कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक हरिप्रसाद सुवेदीले बाँकी रहेका स्वास्थ्य चौकीका हस्तान्तरण कार्य छिट्टै हुुने र सोसाइटीले भूकम्प प्रभावितलाई गरिरहेको सेवाका बारेमा जानकारी दिएका थिए ।

सोसाइटीले भूकम्पले विभिन्न जिल्लामा क्षति पु¥याएका ३० वटा स्वास्थ्य चौकी मध्येमा २७ वटा प्री फ्याव र उपत्यका भित्रका तीन आरसिसी माध्यमबाट निर्माण सम्पन्न गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले आगामी एक वर्षभित्रमा भूकम्पबाट क्षति भएका सबै स्वास्थ्य संस्थाको पुनः निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेको छ ।

मन्त्रालयका सचिव डा पुष्पा चौधरी मन्त्रालयले स्वास्थ्य संस्था पुनः निर्माणका लागि मापदण्ड, आवश्यक उपकरण तथा औजारको सूची तयार गरी सहयोगी संस्थालाई दिएको र सोही अनुरुप पुनः निर्माण भएका जानकारी दिए ।

उनले भने, “हामी जनताको घरआँगनमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन तल्लीन छौँ, यसका लागि आवश्यक भवन, जनशक्ति, उपकरण र औषधिको पु¥याइरहेका छौँ । स्वास्थ्य सेवा पाउनु त जनताको मौलिक अधिकार बनिसकेको छ । यसलाई प्रभावकारी कार्यान्वयनमा जुटिरहेका छौँ ।”

स्वास्थ्य चौकी उपकरण तथा सामग्री सहयोग

भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख ढकालले सोसाइटीले स्वास्थ्य पुनःनिर्माण सम्पन्न गरी हस्तान्तरण गर्दा आवश्यक उपकरण तथा औजार पनि आवश्यकताअनुसार सहयोग गरिरहेको बताउछन् । कार्यक्रमले बर्थिङ सेन्टर भएका स्वास्थ्य चौकीमा आवश्यक उपकरण तथा औजार सहयोग गर्ने गरेको छ ।

सहयोग सामग्रीमा डेलिभरी बेड, बेड्स विथ म्याट्रेस, म्याट्रेस फर डेलिभरी बेड, स्टे«चर, इक्जामिनेसन टेबल, पिलो विथ वाटर प्रुफ कभर, विपी इन्स्टिुमेन्ट, पायडायट्रिक स्टेथोस्कोप, टेबल फर रेकर्डिङ एण्ड रिपोर्टिङ नोट्स, स्टुल, ह्वाइट बोर्ड, फस्टएड इमरजेन्सी किट बक्स, स्टेथोस्कोप सर्जिकलड्रम्स, किड्नी ट्रेलगायताका रहेका छन् ।

अर्कोतर्फ, सोसाइटीले पुनः निर्माण गरिरहेका हेल्थपोष्ट भवनमा स्वास्थ्यकर्मी आवासका लागि अनिवार्य रुपमा आवश्यकताअनुसार कोठाको व्यवस्थासमेत गरिदिएको छ । आवासको व्यवस्थाले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्न अझ प्रभावकारी हुने महेन्द्रज्योति स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैजु बताउछन् ।

उसो त सोसाइटीले भूकम्पपछि लगत्तै रेडक्रस तथा रेडक्रिसेन्टहरुको अन्तर्राष्ट्रिय महासंघलगायत विभिन्न रेडक्रसको सहयोगमा सिन्धुपाल्चोकको चौतारा, मेलम्ची, दोलखाको सिगटी, नुवाकोटको त्रिशूली र रसुवाको धुन्चेमा फिल्ड अस्पताल सञ्चालन गरी तत्काल ४० हजारभन्दा बढी भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।