राजनीति

जनताको समृद्धिका लागि सहयोग आवश्यकः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वनको छैटौँ वार्षिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकास र जनताको समृद्धिका लागि लायन्स क्लबको सहभागिता र सुझाव आवश्यक रहेका छ भने ।

मुख्यमन्त्री राईले जनताले आफ्नो हातले लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको बताए । उनले मुलुक संघीय संरचनामा गई तीन तहको सरकारको गठन भइसकेकाले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेका छ भने ।

मुख्यमन्त्री राईले देश हिजो लामो संक्रमणमा गुज्रेकामा अहिले राजनीतिक स्थायित्व कायम भई नयाँ युगमा प्रवेश गरेसँगै विकासका पूर्वाधार र आर्थिक उन्नतिका कार्यमा सहयोग पु¥याउन लायन्स क्लबको सहयोग आवश्यक रहेको औँल्याए। उनले लायन्स क्लबले सामाजिक उत्तरदायित्व बोध भई नयाँ उचाइमा सामाजिक कार्य र भाइचाराको सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गरे ।

लायन्स डिष्ट्रिक गर्भनर लिलाकुमार ढुंगेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न लायन्स डिष्ट्रिकका सदस्यलाई सम्मान गरिएको थियो । एकदिने वार्षिक सम्मेलनमा डिष्ट्रिक ३२५ ‘ए’ वनका काठमाडौँदेखि मेचीसम्मका एक हजार २०० लायन्स सदस्यको सहभागिता रहेको लायन रोशन खडकाले बताए ।