मनोरञ्जन

प्रदेशमा कला गतिविधिमा जोड

काठमाडौँ । प्रादेशिक रुपमा कलाको विकास हुनसम्बन्धित क्षेत्रबाट कला कार्यशाला, कला शिक्षण, अन्तक्र्रिया आदिलाई नियमित गराउनुपर्ने पूर्वाञ्चलका एक कलाकारले बताएका छन् ।

नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’मा अग्रज कलाकार गोपाल कलाप्रेमीले कलाकारले राजधानी ताकिरहनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए ।“ जबसम्म कलाको चेतना पैदा हुँदैन तबसम्म व्यावसायिकरुपमा कला अगाडि बढ्न सक्दैनन्”, उनले भने । अरुपण आर्ट ग्यालरीमा भएको २१औँ शृृङ्खलामा कला पत्रकार देवेन्द थुम्केलीले सहजीकरण गरेका थिए ।

नाफाको सल्लाहकार समेतको भूमिका निर्वाह गरिसकेका कलाप्रेमीले कलाप्रेमीले विसं २०२२ मा गठित नाफाका पूर्वाञ्चल शाखा सञ्चालन गर्नेदेखि विसं २०२७ मा खोलिएको ललितकला संगमले नेपालको पूर्वी भेगमा कलाको विकासमा खेलेको भूमिकाका बारेमा चर्चा गरे । कलाप्रेमी शुरुका दिनमा सादृष्य कला सिर्जना गर्थे । पछि गेहेन्द्रमान अमात्य, लैनसिंह वाङ्देल, इन्द्र प्रधानजस्ता कलाकारको संगतबाट आधुनिक र अमूतकलातर्फ लागे ।