स्वास्थ्य

जिल्ला अस्पतालः १३ दरबन्दीमा २ मेडिकल अधिकृत मात्र

गाईघाट, उदयपुर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष चिकित्सकको दरबन्दी रिक्त रहेका कारण प्रभावकारी सेवा दिन नसकेको जिल्ला अस्पताल उदयपुरलाई तत्काल चिकित्सकको दरबन्दी पूर्ति गरिने बताएका छन् ।

शुक्रबार उदयपुर आइपुग्नुभएका उनलाई ५० श्ययाको जिल्ला अस्पताल उदयपुरमा १३ दक्ष चिकित्सकको दरबन्दी रहे पनि अहिले दुई मेडिकल अधिकृतबाट मात्र अस्पताल सञ्चालन भएको अस्पताल प्रशासनले जानकारी गराएपछि उनले अस्पतालमा डाक्टरको दरबन्दी पूर्ति गर्न आफूले तत्काल नै केन्द्र सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा विशाल देवले बताए  ।

अस्पतालमा नर्सको पनि दरबन्दी पूरा नभएको र औषधिको अभावका कारण अस्पतालले प्रभावकारी सेवा दिन नसकेको बताइएको छ । अस्पतालको अनुगमनपछि अस्पताल छाडेर अन्यत्र जाने र कर्तव्य पूरा नगर्ने डा वा कर्मचारीलाई तत्काल आफूहरुले कारबाही गर्ने चेतावनीसमेत मन्त्री घिमिरेले दिए ।

जिल्ला अस्पतालमा लामो समयदेखि दरबन्दीअनुसारको चिकित्सक नभएको र हाल अस्पतालमा औषधिकोसमेत अभाव भएपछि अधिकांश जिल्लावासी उपचारका लागि दशौँ हजार खर्च गरेर विराटनगर, धरान, राजविराज र लहान जान बाध्य छन् ।