कृषि

अलैँची प्रशोधन नभइ विदेश निर्यात

ललितपुर । अलैँची प्रशोधन नभइ निर्यात हुँदा उत्पादनसँगै रोग पनि जाने गरेको छ । नेपालबाट बाहिरने कृषिजन्य उत्पादनमा अलैँची रहेको छ । अलैँचीको माग र उत्पादन पर्याप्त हुँदा/हुँदै प्रशोधन नहुँदा उत्पादनसँगै कीरा जाने राष्ट्रियबाली क्वारेन्टाइन निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए ।

नेपालबाट सबैभन्दा बढी अलैँची भारततर्फ निर्यात हुन्छ । केही वर्ष पहिले भारतले माटोसहितको अलैँची निर्यात भएको भन्दै रोक लगाएको थियो । उनी भन्छन्, “जुनसुकै मुलुकमा निर्यातका लागि प्रशोधन गर्न खाँचो छ ।”

कसले पहिले पठाउने भन्ने प्रतिस्पर्धाका कारण किसानले प्रशोधन नगरी अलैँची पठाउने गरेका छन् । माटोमा हुने जीवाणु अलैँचीको गानोमा रहने खरेलले बताए ।

देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा र विदेशमा अलैँची अन्तिम प्रशोधन नगरी निर्यात गर्दा विदेशसम्म उत्पादनसँगै रोग जान्छ । यहाँबाट सबैभन्दा बढी कच्चा पदार्थ निर्यात हुन्छ । उनी भन्छन्, “तयारी बस्तुमा कच्चा पदार्थमा जस्तो गुनासो छैन ।” कार्यालयअन्तर्गत १६ वटा जाँच केन्द्र नाकामा ‘स्वस्थता जाँच केन्द्र’ रहेका छन् ।