अन्तर्राष्ट्रिय

मोगादिसुको होटेल नजिकै कार विष्फोट, १४ जनाको मृत्यु

मोगादिसु, सोमालिया । सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु भएको यहाँको सरकार बिहीबार जनाएको छ ।

विष्फोटबारे सरकारका प्रवक्ता अब्दियाजिज अली इब्राहिमले भने, “राजधानीस्थित एक होटेल नजिकै विष्फोटक पदार्थले भरिएको कार विष्फोट गराइँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा केही सर्वसाधारण घाइते भएका छन् ।”

घटनालाई देखेको बताउने एक सोमालियाली नागरिकले कारलाई एक्कासी ल्याएर होटेल नजिकैको विजुलीको खम्बामा ठक्कर दिएपछि ठूलो आवाजसहित विष्फोट भएको बताए ।

घटनाको जिम्मा समाचार तयार पार्दासम्म कुनै समूहले लिएको छैन ।