शिक्षा

तलब नपाएपछि प्रधानाध्यापक भए गाउँपालिकाका कार्यालय सहयोगी

सल्यान । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गर्नुभएका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी भएका छन् ।

विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उनी दार्मा गाउँपालिकामा कार्यालय सहयोगी भएका हुन् । दार्मा–४ मा रहेको वाल कल्याण प्राथमिक विद्यालयमा २०६६ सालदेखि निजी स्रोतमा पढाइरहेका थापाले दुइ वर्षदेखि तलब नपाएपछि गाउँपालिकामा कार्यालय सहयोगीमा काम गर्न थालेको बताए ।

विसं २०६६ मा रु एक हजार २०० तलब लिएर पढाउन शुरु गर्नुभएका उनी २०६९ सालमा प्रधानाध्यापक भएका थिए । “थोरै भए पनि तलब आउँछ भनेर काम गरेँ तर दुई वर्षदेखि त्यही तलब नपाएपछि बाध्य भएर विद्यालय छोडे ।” थापाले भने ।

प्रधानाध्यापक नै गाउँपालिकामा गएपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । एकतीस विद्यार्थी रहेको विद्यालयमा अब एकजना बालविकास सहयोगी कार्यकर्ताको भरमा मात्रै सञ्चालन भइरहेको छ । स्थायी दरबन्दी नरहको उक्त विद्यालयमा स्थानीयले दिने चन्दाको भरमा विद्यालय चल्दै आएको बालविकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले जानकारी दिए ।

“पहिले दुई जना शिक्षक थियौँ प्रधानाध्यापक नै विद्यालय छोडेर जानु भयो अब मलाई समस्या भएको छ ।” सहयोगी कार्यकर्ता बुढाथोकीले भने, “जिल्ला शिक्षा कार्यालयले पहिले पिसिएफको पैसा पनि दिन्थ्यो यो वर्ष दिएको छैन न त स्थानीयले चन्दा नै उठाउँछन् ।”