स्वास्थ्य

जिल्ला अस्पतालमा न्यानो झोला कार्यक्रम स्थगित

बेँसीशहर, लमजुङ । जिल्ला अस्पतालमा बजेट नहुँदा सुत्केरीले पाउने ‘न्यानो झोला’ कार्यक्रम स्थगित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आउने रकम चालू आर्थिक वर्षमा स्थानीय तहमा गएपछि विगत चार महिनादेखि सो कार्यक्रम स्थगित भएसँगै जिल्लाका सुत्केरी महिला तथा नवजात शिशु प्रभावित भएका छन् । कार्यक्रम नियमित गर्न सम्बन्धित स्थानीय तहसँग बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी गराउनेको संख्या वृद्धि भइरहेका बेला सरकारले दिँदै आएको उक्त कार्यक्रम स्थगित हुनु दुर्भाग्य भएको उक्त अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए ।

नियमित जाँच गराई स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले रु एक हजार ४०० सहित न्यानो झोला दिँदै आएको थियो । न्यानो झोलामा नवजात शिशुलार्ई भोटो, तैलिया, रुमाललगायतका न्यानो कपडाका साथ आमाका लागि दुईजोर म्याक्सी राखिन्थ्यो । स्थानीय तहबाट बजेट वा सामग्री आएलगत्तै कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले जनाएको छ ।