राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक कान्द्रीय कार्यालयमा केहिबेरमा बस्ने, यसो भन्छन् प्रवक्ता शर्मा

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो भने निर्वाचनपछिको पार्टीको यो पाँचौँ केन्द्रीय कार्य समिति बैठक हो ।

यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने प्रवक्ता शर्माले जानकारी दिए ।

एक दिनभन्दा बढी समयसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उनले बताए । निर्वाचनपछि काँग्रेसमा नेतृत्वको आलोचनाका साथ महासमिति भेलाको माग समेत उठ्दै आएको छ ।