राजनीति

सरकारले द्रुतगतिमा काम गर्नुपर्छः अध्यक्ष थापा

धुलिखेल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले द्रुतगतिमा विकास निर्माणको काम गर्न नसके दिगो शान्ति र प्रजातन्त्र बलियो नहुने बताएका छन् ।

धुलिखेलमा आजबाट शुरु भएको राप्रपाको दुईदिने उच्चस्तरीय अनुशिक्षण कार्यक्रममा उनले भने – “दश वर्षे सशस्त्र जनयुद्ध र राजनीतिक संक्रमणपछि हालै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएका कारण विकासप्रति जनताको आशा र भरोसा तीव्र रहेको पुष्टि हुन्छ ।”

अध्यक्ष थापाले सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमणपछि अहिले शान्ति र स्थायित्व कायम भई मुलुक आर्थिक समृद्धितर्फ केन्द्रित हुने आशा र विश्वास आम नागरिकको छ भन्दै अब पनि शान्ति, स्थायित्व र आर्थिक समृद्धि नभए त्यो मुलुककै लागि दुर्भाग्य हुने बताए ।

“नेपालको धार्मिक र सांस्कृतिक पहिचान संकटमा परेको छ,” उनले भने, “धर्म परिवर्तनले नेपालमा सदियौँदेखि कायम रहँदै आएको सद्भाव खल्बलिन सक्ने र मुलुक धार्मिक द्वन्द्वमा पर्नसक्ने खतरा छ ।”

अध्यक्ष थापाले विसं ०६२÷६३ को परिवर्तनपछि समाजमा तीव्र राजनीतिकरण भएको उल्लेख गर्दै राज्यका सबै अंग र प्रशासनिक संयन्त्रमा तीव्र रुपम पार्टीकरण भएको, संवैधानिक अंग, न्यायालय, राजदूत र शैक्षिक संस्थालगायतमा पार्टीको भागबण्डाका आधारमा नियुक्त गर्ने परम्परा चलेको अवस्थालाई सच्याउन सकेमत्रै जनताले आशा गरेको आर्थिक समृद्धि र दिगो शान्ति एवं प्रजातन्त्र बलियो हुनेछ भने ।

नेपालको सम्मान र गौरवको रक्षाका लागि वर्तमान सरकारले थुप्रै काम गर्नुपर्ने बताउँदै उनले पार्टी संगठनलाई सशक्त र बलियो बनाउन सके आगामी पाँच वर्षपछि पार्टीलाई अग्रणी राजनीतिक शक्तिका रुपमा स्थापित गराउन सकिन्छ भने ।