साहित्य

हरेक प्रदेशमा प्रज्ञा–प्रतिष्ठान खोल्नुपर्नेमा जोड

पोखरा । विश्व रंगमञ्च दिवसका अवसरमा नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आजदेखि यहाँ राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ ।

पोखराको गै¥हापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुरु महोत्सवको प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्दै संघीयता कार्यान्वयनसँगै हरेक प्रदेशमा प्रज्ञा–प्रतिष्ठान खोल्नुपर्ने बताए ।

नाट्यप्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले देशभरका  रंगकर्मीलाई भेटघाट गर्नाका साथै नाट्य क्षेत्रमा भएका गतिविधिका बारेमा
जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । प्रज्ञा– प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, नाट्य विभाग प्रमुख रमेशनन्दन झा, कार्यक्रम संयोजक पुष्कर गुरुङ, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीलगायतले नेपाली नाट्य क्षेत्र तथा पोखराका नाट्य गतिविधिबारे चर्चा गरेका थिए ।

उद्घाटन समारोहसँगै सरुभक्तद्वारा लिखित नाटक ‘थाङ्गला’ मञ्चन गरिएको थियो । अनुप बरालको निर्देशन रहेको सो नाटकमा कलाकारको अभिनयलाई दर्शकले मन पराएका थिए । महोत्सवअन्तर्गत शुक्रबार अपराह्न साँझ पुनः मञ्चन हुने आयोजकले जनाएको छ ।

यस्तै शनिबार र आइतबार राजन खतिवडाको निर्देशनमा रहेको नाटक ‘एन्टिगोनी’ मञ्चन हुनेछ । यही चैत १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । महोत्सवमा नाट्य क्षेत्रका बारेमा समेत छलफल हुने छ । महोत्सवमा ‘भर्जिन कथा’, ‘नारी शिक्षा’, ‘जयगान’, ‘सान्नानीको सन्ते राजा’, ‘एक चिहान’, ‘पानीघट्ट, चाँदीको घेरा’, ‘सखी’लगायत नाटक मञ्चन हुनेछन् । चैत ९, १० र ११ गते हरेक दिन अपराह्न र साँझ नाटक मञ्चन हुनेछ । चैत १२ र १३ गते अपराह्नसमेत थप प्रदर्शन गरिनेछ ।

ज्येष्ठ नागरिक सम्मानित
पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ ले वडाभित्रका ८४ वर्ष नाघेका ५० ज्येष्ठ नागरिकलाई आज सम्मान गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्दै ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्ण बाँच्ने वातावरण तयार गरिनुपर्ने बताए ।

ज्येष्ठ नागरिकको स्वास्थ्योपचारलाई लक्षित गरी महानगरपालिकाले प्रत्येक दुई महिनामा घर घरमा पुगी उहाँहरूको उपचार गर्ने कार्यक्रम ल्याएको पनि उनले जानकारी दिए ।

सम्मानित हुनेमा ८४ वर्षदेखि १०७ वर्षसम्मका नागरिक रहेको ज्येष्ठ नागरिक सम्मान समितिका संयोजक केशवराज भण्डारीले जानकारी दिए । कार्यक्रममा शिक्षाविद् गणेशबहादुर गुरुङ, पोखरा वद्धाश्रमका संरक्षक वसन्तकेशव पराजुली, डा ज्ञानबहादुर कार्की, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद चापागाईँँ, नरेन्द्रमान लालचन, नन्दराम गिरीलगायतले ज्येष्ठ नागरिकका अनुभव वर्तमान पुस्ताका लागि प्रेरणादायी हुने बताए ।