पर्यटन/संस्कृति

संसारका उत्कृष्ट पथप्रदर्शकमा सिलवाल

काठमाडौंँ । मूलधारको सक्रिय पत्रकारिताबाट अलग भएर पर्यटकका पथप्रदर्शक बनेका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड गाइड’को सूचीमा समेटेका छन् ।
संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल टुरएचक्यूले उनलाई ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गरेको छ । सिंगापुरस्थित संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई उक्त सम्मान प्रदान गरेको हो । उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय पथप्रदर्शकमध्येबाट उत्कृष्ट १०० को सूची तयार गरेको थियो । “२६ हजारभन्दा बढी गाइडहरुले यो सफल यात्रामा योगदान गरेका छन्, तपाईं जस्तै केही गाइडले बृहत् ज्ञान, अतुलनीय सेवा र मिलनसार व्यवहारका कारण उत्कृष्टता हासिल गरेका छन्” टुरएचक्यूले भनेको छ ।
आधा दशकअघिसम्म पत्रकारितामा सक्रिय सिलवाल पछिल्लो समय पथप्रदर्शन र लेखनमा सक्रिय छन्। उनले भूकम्पपछि मानवविहीन लाङटाङमा पत्रकारका रुपमा सबैभन्दा पहिले पैदलै पुगेर त्यहाँको अवस्था समेटिएका दुई वृत्तचित्र ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’(बिउँझँदै र हिँड्दै) तयार गरेका थिए । पछिल्लो तीन वर्षको पथप्रदर्शन काममा ६० भन्दा बढी देशका पर्यटकलाई आफूले घुमाएको सिलवालले बताए।
भूकम्पले थिलथिलो भएको लाङटाङको वास्ताविकता जनसमक्ष ल्याउन भूमिका खेलेवापत सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्सट्रक्सन कमिटीले लाङ्टाङ सद्भावनादूत बनाएको छ । मुलुकको पर्यटकीय क्षेत्रको उत्थान र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०ले पनि उनलाई सम्मान गरिसकेको छ ।