कृषि

विदेशको जागिर छाडेर गाईपालन

बनियानी, झापा । स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ ।

कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपालन व्यवसायबाट आत्मनिर्भर बनेका छन् । युएईमा सात वर्ष श्रम गरेर गौतम स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किए ।

“स्वदेशमै केही गर्नुपर्छ भनेर आएँ,” उनले भने । अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थालेको गौतम बताउछन् । उनले रु २५ लाखको लागतमा प्रतीक पशुफार्म दर्ता गरेर गाईपालन गर्दै आएका छन् । फार्ममा हाल ३० वटा साना–ठूला गाई छन् । दैनिक २०० लिटर दूध उत्पादन हुन्छ ।

“गोठबाटै प्रतिलिटर रु ६० मा दूध बिक्री हुन्छ,” उनले भने । गौतमले १२ बिघा जमिनमा घाँस, मकैलगायत खेती गर्दै आएका छन् । दूध, गाईको गोबर र बाच्छा–बाच्छी बिक्री गरेर उनले मासिक रु एक लाख २० हजारसम्म बचत गर्दै आएका छन् ।