शिक्षा

एसइई परीक्षा : सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

लहान । आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए ।

यस्तै परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको जिशिअ महतोले बताए । निष्कासन गरिएको स्थानमा भोलिदेखि अर्को केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा सञ्चालन गर्ने जिशिअ महतोको कथन छ ।

त्यस्तै सिरहाको तीन वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आजको परीक्षा सम्पन्न भएको उनले बताए। यस वर्षको एसइई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका परीक्षामा सिरहाबाट नियमिततर्फ नौ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी नौ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताए ।