राजनीति

काँग्रेस सभापति स्व कोइरालाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । कार्यवाहक राष्ट्राध्यक्षको भूमिकासमेत निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आत्माको चीर शान्तिको कामना गर्दै आज बेलुकी रत्नपार्कस्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरियो ।
स्वर्गीय कोइरालाको आठौँ स्मृति दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ केन्द्रीय प्राविधिक समिति र पूर्वाञ्चल विश्वविद्यालय समितिको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि स्व कोइरालाको नेतृत्वमा भएको विसं २०६२÷२०६३ को जनआन्दोलन निर्णायक बनेको स्मरण गरे ।
शान्ति स्थापनाका लागि कोइरालाले वृद्ध अवस्थामा पनि युवाले जस्तै भूमिका निर्वाह गर्नुभएको उनको भनाइ थियो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कोइरालाले शुरु गर्नुभएको सहमति, सहकार्य र एकताको राजनीति संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अझै आवश्यक रहेको बताए ।
कोइरालाको विसं २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो ।