उर्जा

लघुजलविद्युत् परियोजना बन्द भएपछि लुलाङबासी अन्धकारमा

बाबियाचौर, म्याग्दी । लघुजलविद्युत् परियोजना बन्द भएपछि म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङका बासिन्दा विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।

विसं २०७४ साउन १२ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको लमसुङस्थित विद्युत्गृह पुरिनुका साथै नहर बगाएको थियो ।

परियोजनाको अधिकांश संरचना पहिरोले पूर्ण रुपमा क्षति पु¥याएपछि लुलाङ, लमसुङ र खोरिया गाउँका बासिन्दा विद्युत् सुविधाबाट वञ्चित भएका हुन् । तीनसय पच्चिस घरधुरी उपभोक्ता रहेको परियोजना बन्द भएपछि सबै अन्धकारमा रात कटाउन बाध्य भएको परियोजनाका अध्यक्ष कृष्णबहादुर गौचनले बताए ।

उनका अनुसार मर्मतको सम्भावना नरहेको परियोजना पुनःनिर्माणमा ढिलाइ हुँदा लुलाङवासी मर्कामा परेका हुन् । परियोजना बन्द भएपछि उज्यालोका लागि सोलार र टुकी बाल्नुपर्ने अवस्था आएको स्थानीयवासी टेकलाल रसाइलीले बताए । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित भएका छन् ।

मोबाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न समस्या भएको छ । परियोजनाको सबै संरक्षणमा पहिरोले क्षति पु¥याएकाले पुनःनिर्माणका लागि सर्वेक्षणको काम सकिएको वडाध्यक्ष गमबहादुर विश्वकर्माले बताए ।

मरेनीको फेदीमा बाँध र विद्युत्गृह बनाउने गरी पुनःनिर्माणका लागि गाउँपालिकाबाट चालु आवमा रु २३ लाख विनियोजन भएको छ । सर्वेक्षणको प्रतिवेदन प्राप्त भएपछि उपभोक्ता समिति गठन गरेर पुनःनिर्माणको काम शुरु गरिने वडाध्यक्ष विश्वकर्माले जानकारी दिए ।