राजनीति

स्वदेशमा रोजगारी सरकारको प्राथमिकताः मन्त्री विष्ट

काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले स्वदेशमा नै रोजगारीको अवशर सिर्जना आफ्नो प्राथमिकतामा भएको बताएका छन् । उनले यसका लागि सरकार, रोजगारदाता र ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्ने बताए । उनले श्रम क्षेत्रमा गर्नुपर्ने सुधार र तत्काल गर्नुपर्ने कामका बारेमा आफूले सवैको सल्लाह लिएर उचित निर्णय गर्ने जानकारी गराए ।

मन्त्री विष्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन तथा श्रम क्षेत्रमा गर्नुपर्ने कामका बारेमा सुझाव दिन गएको नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का पदाधिकारी तथा प्रतिनिधिहरुको टोलीसँग उनले यस्तो बताए । भेटघाटमा जिफन्टका तर्फबाट श्रम ऐन वमोजिम तत्काल गर्नु पर्ने कामहरु, सामाजिक सुरक्षा अन्तरगत तत्काल गर्नु पर्ने काम, अन्य कानूनी व्यवस्थामा गर्नु पर्ने सुधारहरु, संस्थागत विकास सम्वन्धमा थप सुझावहरु र रोजगारी सिर्जनाका सम्वन्धमा सुझावहरु दिइएको थियो ।

जिफन्टका सचिव रमेश बडालले श्रम ऐन वमोजिम केन्द्रिय श्रम सल्लाहकार समिति गठन गर्न तथा हाल कानून मन्त्रालयमा पुगेको श्रम नियमावली छिटो पारित गर्न आग्रह गर्नुभयो । यसैगरी स्थाई न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गर्न र वैशाख १ गतेदेखि काम शुरु गरी असार मसान्त भित्र घोषणा गर्न सुझाव दिए । नयाँ दर श्रावण १ बाट लागु हुने व्यवस्था मिलाउन पनि बडालले आग्रह गरे । श्रम मध्यस्थता ट्राईव्युनल गठन गर्न, कार्यस्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निती वनाउन पनि जिफन्टले श्रम तथा रोजगार मन्त्री विष्टलाई सुझाव दिएको छ ।

योगदान आधारित सामाजिक सुरक्षा ऐन आए पनि नियमावली तयार नभएको भन्दै जिफन्टले नियमावली तुरुन्त तयार गरि यस अन्तरगतको सुरक्षा योजना अर्थात स्कीमहरु तयार गर्नु पर्ने मन्त्री विष्टलाई अवगत गराएको छ ।

सामाजिक सुरक्षा कोषलाई निजामती कर्मचारीवाट नभई विज्ञ मार्फत नेतृत्व गर्न कार्यकारी निर्देशक, निर्देशकहरु र केहि कर्मचारी तुरुन्त नियुक्ति गर्न आवश्यक रहेको भन्दै प्रत्येक प्रदेशमा सामाजिक सुरक्षा कार्यलय स्थापना र सञ्चालन तत्काल गर्न आवश्यक रहेको पनि सचिव बडालले जानकारी गराए ।

श्रमिक दर्ता गरी राष्ट्रिय परिचयपत्रसंग जोडेर वा तत्काल आफ्नौ सामाजिक सुरक्षामा रोजगारदाता र श्रमिक दर्ता हुने प्रणाली ऐन वमोजिम सुरु गर्नु आवश्यक रहेको उनको भनाई थियो ।