राजनीति

निजामती कर्मचारी युनियनमा पोखरेल

रत्ननगर, चितवन । नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन् । गएराति ३ बजे सकिएको महाधिवेशनमा उनले बुढाथोकीभन्दा ३० मत बढी ल्याए ।

कूल ५४५ खसेको मतमा पोखरेलले २८४ र बुढाथोकीको २५४ मत आएको थियो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ । प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १७० मत प्राप्त गरे ।

अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भए । महासचिवमा सुवास कोइराला निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए ।

उनका अनुसार आज सबैलाई शपथ खुवाउने कार्यक्रम राखिएको छ । गए राति सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ । पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको खनालले जानकारी दिए । तीनवर्षीय कार्यकालका लागि सचिवमात्रै सात जना निर्वाचित भएका छन् ।

यही चैत ४ गतेदेखि यहाँ चलेको महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए । महाधिवेशनको काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।