उर्जा

रसुवागढी हाइड्रोपावरः सुरुङ ७७ प्रतिशत पूरा

रसुवा । उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम द्रुत गतिले अगाडि बढेको छ ।

हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने चार हजार २०० मि हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ । खन्न बाँकी काम पूरा गराउन करीव २० प्राविधिक एवं ३०० मजदूरले काम गरिरहेका छन् । सन् २०१४ देखि भूमिगत संरचनाबाट निर्माण अगाडि बढेको रसुवागढी हाइड्रोपावर सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

रु १३ अर्ब ६४ करोड ४० लाखको लागत रहेको आयोजनामा निर्माण गर्नुपर्ने ३१३ मिटरको पेनस्टक पाइप राख्ने सुरुङ, भोटेकोशीमा बाँध र विद्युत्गृह निर्माणको काम दु्रत रुपमा अगाडि बढिरहेको साइट इञ्चार्ज प्राविधिक गौतम खड्काले जानकारी दिए ।

भोटेकोशी नदीमा बाँध बाँधी विद्युत्गृहमा सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी पठाई १११ मेगावाट अर्थात् ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।

विसं २०६० भदौ ८ गतेदेखि उत्पादन शुरु भएको २२ मेगावाट क्षमताको चिलिमे र १११ मेगावाटको रसुवागढी मात्र सम्पूर्ण भूमिगत संरचनाका भएको प्राविधिकले बताएका छन् । विसं २०७२ को भूकम्पले चिलिमे जलविद्युत् केन्द्रलाई कुनै असर नपरेको समेत प्राविधिकले स्मरण गरेका छन् ।