आर्थिक

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै समृद्धिः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त हुने बताएका छन् ।

सरकारले आर्थिक विकासको योजनालाई नै प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सरकारको सबै प्रयासले मात्रै मुलुक अगाडि नबढ्ने भएकाले निजी क्षेत्रलाई साथमा लिएर काम गर्ने उल्लेख गरे।

अर्थमन्त्रीले मालसामान कारोबारमा बिलबीजकका आधारमा बिक्री गरी सरकारलाई राजश्व परिचालनमा सहयोग प्रदान गर्न आह्वान गरे । भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले इमान्दार प्रयत्नले मात्रै सकारात्मक परिणाम निस्कने स्पष्ट पारे।

अर्थमन्त्रीले फरक फरक निकायले बजार अनुगमन गर्दा समस्या उत्पन्न हुने भएकाले एकद्वार प्रणालीअन्तर्गत बजारको अनुगमन तथा विश्लेषण गरिने बताए । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्याको दीर्घकालीन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन अत्यावश्यक रहेको स्पष्ट पारे ।

भेटवार्तामा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार–व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्री डा खतिवडासँग आग्रह गरे । चेम्बरका अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय क्षेत्रको चर्को ब्याजदर घटाउनेतिर पनि सरकार लाग्नुपर्ने खाँंचो औँल्याएको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।