समाचार

अर्ना स्थानान्तरणको एक वर्षः तीन अर्नाको गर्भधारण

नारायण अधिकारी/चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ल्याइएका अर्ना यहाँको हावापानीमा घुलमिल भएर प्राकृतिक रुपमा रमाउन थालेका छन् ।

गत वर्षाद्मा बाढीका कारण रोगले ग्रसित बनेका अर्ना उपचारपछि स्वस्थ बन्दै गएर अहिले गर्भधारणसमेत गरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार कोशीटप्पु राष्ट्रिय निकुञ्जको छुट्टाछुट्टै बथानबाट ल्याइएका अर्ना अहिले एउटै समूहमा हिँड्डुल गर्न शुरु गरेका छन् ।

निकुञ्जको पदमपुर क्षेत्रमा बनाइएको खुला खोरमा समूहमा चर्ने, पानी खाने, आहाल बस्ने र रमाउने गरेका छन् । गत वर्ष माघको दोस्रो साता कोशीटप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन अर्ना ल्याइएकामा चिडियाखानाबाट ल्याएका तीन अर्ना तत्कालै मरेका थिए ।

बाढीका कारण कोशीटप्पुबाट ल्याइएकामध्ये तीन अर्ना मरेपछि अहिले नौ मात्रै बाँकी छन् । तीमध्ये दुई भाले र सात पोथी छन् । ल्याइएका सबै अर्ना प्रजननयोग्य थिए । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैह्रेले तीन अर्नाले गर्भधारण गरेको बताए । उनका अनुसार घरायसी भैँसीमा गर्भधारणपछि देखिने लक्षण अर्नामा पनि देखिएका छन् । करीब दुई महिनाअघि गर्भधारण गरेको अनुमान गरिएको छ ।

वर्षाद्पछि गत भदौमा निकै बिरामी परेका अर्नालाई औषधि, कृत्रिम घाँस, ढुटो, चना, चोकरलगायत पोषिलो खाना खुवाइँदै आएको थियो । त्यतिबेला दिनहुँजसो ती खाना खुवाइए पनि अहिले साताको एक पटक मात्रै दिइएको छ ।

पूर्ववतावस्थामा अर्ना पुगेपछि बाह्य खाना घटाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा निकै वर्ष अगाडि अर्ना रहेको भनिए पनि पछिल्लो समय लोप भएपछि प्रजाति विविधीकरण गर्न यहाँ ल्याइएको हो । निकुञ्जमा, बाघ, एकसिंगे गैँडा, हात्ती, भालु, नीलगाई, चित्तल, चितुवालगायत जंगली जनावर, चराचुरुङ्गी छन् ।