अन्तर्राष्ट्रिय

रुसी कुटनीतिज्ञलाई देश निकाला गरेकोप्रति इयुको समर्थन

ब्रसेल्स । युरोपेली संघका विदेश मन्त्रीले रुसी कुटनीतिज्ञहरुलाई देश निकाला गर्ने बेलायतको निर्णयप्रति समर्थन जनाएका छन् । विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उनकी छोरीको हत्या प्रयास प्रकरणमा रुसले २३ जनालाई देश निकाला गर्ने निर्णयप्रति उनले सोमबार समर्थन जनाएका हुन् ।

मासिक बैठकपछि निकालेको वक्तव्यमा उनले आक्रमणको कडा शब्दमा भत्सर्ना गरेका छन् ।  घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन माग गर्दै उनले पिडितप्रति गहिरो सहानुभूती व्यक्त गरेका छन् ।

यसअघि अमेरिका लगायतका देशहरुले पनि बहुचर्चित विष आक्रमणको घटनामा रुस नै दोषी रहेको बताएका थिए ।  यसअघिल्लो बुधबार बेलायती प्रधानमन्त्री टरिजा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेका थिए ।

पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो ।

रुसी सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ ।