पर्यटन/संस्कृति

वाल्मीकि आश्रममा जमघट हुँदै

नवलपरासी । नेपालकै प्रमुख धार्मिक धरोहरमध्ये एक वाल्मीकि आश्रममा आउँदो रामनवमीमा मेला तथा धार्मिक जमघट हुने भएको छ ।

यही चैत ११ गते रामनवमी एवं चैतेदशैँको अवसरमा जगत् जननी सीतामाताको धर्ती प्रवेश तथा महर्षि वाल्मीकि ऋषिको तपोभूमिका रुपमा चिनिने वाल्मीकि आश्रममा जमघट हुने भएको हो ।

नवलपरासीको बाटो हुँदै जानुपर्ने चितवन माढी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रममा सो दिन जमघट हुने विश्व सनातनधर्म स्थापनार्थ सीतामाता मन्दिर मूल समिति काठमाडौँका अध्यक्ष दीपक रायमाझीले जानकारी दिए ।

विकट वाल्मीकि आश्रम आउन जान कठिन भए पनि त्रेतायुगमा भएका धार्मिक घटनाक्रम र रामको जीवनीसँग जोडिएको धार्मिक अध्यायकै कारण हिन्दू धर्मावलम्बी सो आश्रम पुग्ने गरेका छन् ।

आश्रम पुग्न भारतको भैंसालोटनबाट मात्र सवारी साधनले आउन जान सकिने र नेपाली भूमिबाट त्रिवेणीस्थित नारायणी नदी पार गरी दुई घण्टा जङ्गलमा हिँड्नुपर्ने बाध्यता रहेकाले आशा गरेअनुसार तीर्थालु वर्ग आश्रममा नपुग्ने गरेको समितिले बताएको छ ।