समाचार

सुर्खेतका जनप्रतिनिधिको बालविवाह रोक्ने प्रतिबद्धता

सुर्खेत । सुर्खेतस्थित स्थानीय तहका जनप्रतिनिधिले बालविवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा भिएसो नेपालद्वारा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी’ कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न जिल्लास्तरीय छलफलका सहभागीहरूले सो कुरामा प्रतिबद्धता जनाएका हुन् ।

समाजमा अझै पनि बालविवाह मौलाउँदै गएकाले यसलाई रोक्न ठोस अभियान सञ्चालन गर्नुपर्नेमा उनीहरूको जोड थियो । बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बालविवाहले महिलाको समग्र जीवनमा पार्ने प्रभावका बारेमा स्वयं किशोरकिशोरीलाई जानकारी गराएर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिने बताए ।

उमेर नपुगी आमा बन्दा त्यसले प्रजनन स्वास्थ्यमा समस्या पर्नुका साथै उनीहरूको मानसिक स्वास्थ्यमा पनि असर पार्दा पनि कानूनको कार्यान्वयन गर्न नसकिएको अध्यक्ष बस्नेतले गुनासो गरे ।

लेकबेँसी नगरपालिका–९ का वडाध्यक्ष मानबहादुर खडलु मगरले नगरपालिकाभित्र बालविवाह हुन लागेको कुरा थाहा पाउने बित्तिकै रोक्ने र बालविवाह गरिएको कार्यक्रममा सहभागी भएर भोज पनि नखाने प्रतिबद्धता जनाए ।

यस्तै भेरीगंगा नगरपालिका–१२ का वडाध्यक्ष हरिप्रसाद खरेलले बालविवाह न्यूनीकरणका लागि जनचेतना फैलाउँदा पनि अझै न्यूनीकरण हुन नसकेको गुनासो व्यक्त गरे । उनले बालविवाह रोक्नका लागि किशोर किशोरीलाई उचित शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले बालविवाहका कारण महिला नै बढी पीडित भएको र बालविवाह रोक्ने अभियानमा किशोरी र महिलाको सक्रिय सहभागिता हुनु आवश्यक रहेको बताए ।