समाचार

युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान

रोल्पा । युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ ।

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ । युवाका लागि गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउनेलगायतका तालीम सञ्चालन गरिरहेको छ । तालीमपश्चात नियमित अनुगमनसमेत गर्दै तालीमलाई जीवन उपयोगी बनाउने सोचका साथ अगाडि बढेको उक्त गाउँपालिकाले जनाएको हो ।

गाउँपालिको दलित बाहुल्य सिउरी गाउँका १० दलित युवाका लागि परम्परागत पेशा प्रवद्र्धनमा युवाको आकर्षणसमेत बढाउन एक महिने आरन प्रवद्र्धन प्रशिक्षक प्रशिक्षण आयोजना गरेको छ ।

परम्परागतरुपमा सञ्चालन हुँदै आएको सो पेशालाई आधुनिकीकरण गर्न सो तालीम आयोजना गरेका हौ गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले भने । परम्परागत पेशालाई स्तरोन्नति गर्दै साना उद्योगको रुपमा विकास गरी अन्य युवालाई समेत रोजगारी सिर्जना गर्ने गरी काम थालिएको उनले जानकारी दिए ।

जिल्लामा भित्री सडक विस्तारसँगै गाडी चालकको समेत माग भएको हुँदा उक्त गाउँपालिका महिला र पुरुष गरी २५ युवालाई सवारी चालक तालीम दिने तयारीमा छ । तालीमबाट दक्षता हासिल गरेसँगै सबै युवाले सहजै पेशामा आबद्ध हुन सक्छन् अध्यक्ष पुनले भने ।

गाउँपालिकाले महिलाका लागिसमेत नमकिन बनाउने, मुडा बनाउने र अल्लो भांगो प्रवद्र्धन तालीम सञ्चालन गरेको छ । घरको चुलोचौकामा सीमित हुने महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको हो ।

युवाका लागि गाउँमै रोजगारी सिर्जना नगरे विदेश पलायन भइरहेको युवा जनशक्ति रोक्न नसकिने भएकाले अल्पकालीन योजनाका रुपमा युवामा सीप र क्षमता विकास गरी स्वरोजगार बनाउने र दीर्घकालीनरुपमा कृषिलाई व्यवसायीकरण तथा स्थानीय अल्लो भांगोको उद्योगसमेत स्थापना गर्ने सोच बनाएका छौँ अध्यक्ष पुनले भने ।

स्थानीय सरकारको लगानी र प्रत्यक्ष निगरानीमा युवा लक्षित कार्यक्रम भइरहेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत बालकृष्ण आचार्यले बताए। गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउने गरी काम थालनी गरेको हुँदा आगामी दिनमा युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिने उनले आशा व्यक्त गरे ।

हाल रोल्पाका ४० हजार बढी युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडीको विभिन्न मुलुकमा मजदूरी गरिरहेका छन् ।