राजनीति

अग्नि पीडित क्षेत्र–रोगको संक्रमणको खतरा, सहकार्यका लागि आक्रमक रुपमा तरुणदलले बढायो हात

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ ।

आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेतले काम गर्न नसक्ने भएपछि अग्नि पीडित परिवारले स्वच्छ पिउने पानी नपाएको पीडित देवनारायण चौधरीले जानकारी दिए ।

आगलागीमा परी मरेका थुप्रै बाख्रा पाठा र गाई गोरुको व्यवस्थापन नगर्दा दुर्गन्ध फैलन थालेकाले हैजाको संक्रमण फैलन सक्ने खतरा बढेको अर्का अग्निपीडित हरिलाल सरदारको गुनासो थियो ।
अग्निपीडित क्षेत्रका सबै घरका मानिसले लगाएको लत्ताकपडाबाहेक केही पनि नबचेकाले तत्काल बालबालिकाको पठनपाठनका लागि अझै कहीँबाट राहत उपलब्ध हुन नसकेको अर्का पीडित गोपी यादवले बताए ।

तरुण दल– आधारभूत राहत विरतण

नेपाल तरुण दल जिल्ला शाखाले बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा भएको आगलागी पीडित परिवारलाई सोमबार खाद्यान्न लत्ताकपडा र त्रिपाल वितरण गरेको छ ।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ र उपाध्यक्ष सन्तोष विकको नेतृत्वमा गएको राहत वितरण टोलीले अग्निपीडित ४९ घर परिवारलाई त्रिपाल खाद्यान सामग्री चाउचाउलगायत प्रतिपरिवार रु ११ हजार बराबरको सामग्री उपलब्ध गराइएको जिल्ला अध्यक्ष सिजन गुरुङले जानकारी दिए ।