खेलकुद

दुप्चेश्वर राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई

नुवाकोट । ‘प्रथम दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि स्याङ्जा भलिबल समूहले जितेको छ ।

दुप्चेश्वर गाउँपालिकाको आयोजनामा दुप्चेश्वर–३ राउतबेँसीमा आज भएको फाइनलमा कालिका युवा क्लब राउतबेँसीलाई ३–२(बेष्ट अफ फाइभ) ले हराउँदै उपाधि स्याङ्जाले जितेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा उत्कृष्ट स्याङ्जालाई नेपाली काँग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले रु एक लाखसहित ट्रफी र पद प्रदान गर्दै शारीरिक स्फूर्ति र तन्दुरुस्तीका लागि खेल मानवीय जीवनमा अनिवार्य बनेको बताए ।

दोस्रा कालिकाले रु ५० हजार, पदक र ट्रफी, तेस्रा पञ्चकन्या युवा क्लबले रु ३० हजार र सान्त्वना रुकुम जिल्ला भलिबल समूहले रु १० हजारसहित प्रमाणपत्र प्राप्त गरे । यही चैत १ गतेदेखि शुरु भएको प्रतियोगितामा सात जिल्लाका १४ समूहको सहभागिता थियो । प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।