साहित्य

बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तक विमोचन

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाको आठौँ वार्षिकोत्सवका अवसरमा ‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तकको विमोचन गरे ।

पदमकुमार सरदारद्वारा लिखित सो पुस्तकमा बाँतर जातिको रहनसहन, संस्कार, पेशा, आर्थिक अवस्था, शिक्षा, धर्म संस्कृतिलगायतका विषय समेटिएको छ ।

पूर्वी तराईको सात जिल्लामा बसोबास गर्दै आइरहेका यो जातिको जनसंख्या २०६४/०६५ को जनगणनाअनुसार ८६ हजार ६२९ छ ।

सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अल्पसंख्यक जातिको पहिचान र उत्थानका साथै संरक्षण तथा संवद्र्धन गर्न सरकार प्रतिबद्ध छ भने ।

उनले आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा क्षेत्रमा पिछडिएको यो जातिका २० जना बालबालिकालाई विराटनगरका विभिन्न विद्यालयमा निःशुल्करुपमा अध्ययनको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे ।

बाँतर जाति केन्द्रीय कल्याणकारी समितिका अध्यक्ष मोहनलाल सरदारले बाँतर जातिलाई दलितमा सूचीकृत गरिएकामा असन्तुष्टि व्यक्त गर्दै यो जाति जंगलमा बसोबास गर्ने भएकाले आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गरे ।

प्रदेश नं १ का प्रदेशसभा सदस्य जयराम यादवले बाँतर जाति पिछडिएको जाति भएकाले यसको उत्थानका लागि सरकार अग्रसर हुनुपर्ने बताए ।

ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पदमकुमार सरदारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना सरदार, अधिवक्ता सीता पौडेल र सो पत्रिकाका सम्पादक कृष्णराज निरौलाले बाँतर जातिको उत्थानका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।

सोही अवसरमा बाँतर जातिको सम्बन्धमा चलचित्र निर्माण गर्नका लागि सो पत्रिकाका सम्पादक पदमकुमार सरदार र जयदुर्गा फिल्मका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर पनि सम्पन्न भयो । सो चलचित्र विसं २०७५ माघ महिनासम्ममा निर्माण हुने बताइएको छ ।