खेलकुद

क्रिकेट टोली स्वदेश फिर्ता, टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मासहित खेलकुद मन्त्रालयका पदाधिकारी तथा क्रिकेटप्रेमीलगायतले सो टोलीलाई भव्य स्वागत गरेका थिए ।

जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपालले प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई पराजित गर्दै पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेको थियो ।

नेपालको विश्वकप खेल्ने सपना सकिएसँगै सातौँ स्थानका लागि भएको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले एक दिवसीय मान्यता पाउने पक्का भएको थियो ।

दश देशको सहभागिता रहेको विश्वकप छनोट प्रतियोगितामा दुई खेल जितेको नेपाल आठौँ स्थानमा रह्यो । नेपाली टोलीका कप्तान पारस खड्काले सबैको मेहनतले एक दिवसीय मान्याता पाउन सफल भएको उल्लेख गर्दै अबको सपना विश्वकप रहेको बताए ।

नेपाली क्रिकेटप्रेमीले क्यान विवाद तत्काल समाधान गर्नुपर्ने, मुलपानी क्रिकेट मैदान छिटो बनाउनुपर्ने, खेलाडीलाई सुविधा दिनुपर्नेलगायत माग राख्दै विमानस्थलभित्रै केही समय नाराबाजीसमेत गरेका थिए ।