उर्जा

विद्युत् उत्पादनगृहमा सुरुङ निर्माण शुरु

जाजरकोट । नलगाड हाइड्रोपावर कम्पनीको विद्युत् उत्पादन गृहमा नमूना परीक्षणका लागि सुरुङ निर्माण शुरु भएको छ । नलगाड – ७ दल्लीमा ३३२ मिटर लामो, दुई मिटर उचाइ र दुई मिटर लम्बाइ रहेको सुरुङ निर्माण हुने कम्पनीका पदम थापाले जानकारी दिए । भूमिगत विद्युत् उत्पादनगृह निर्माणका लागि यो कार्य गरिएको हो ।

नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलको उपस्थितिमा सुरुङ निर्माणस्थलको औपचारिक शुरुआत गरिएको हो । सुरुङ बनेपछि विद्युत् उत्पादनगृहको जमिन कति पक्का र कच्चा छ भन्ने जानकारी हुने थापाले बताए । अबको १० महिनाभित्र सुरुङको परीक्षण पूरा गर्नुपर्ने सम्झौता स्मेक कम्पनीले नलगाडसँग गरेको छ ।

नलगाड हाइड्रोपावरको बाँधस्थलमा अहिले नमूना परीक्षणको काम भइरहेको छ । काममा तीव्रता दिएर आयोजना निर्माण छिटोछरितो गर्न नगरप्रमुख रावलले आग्रह गरे । आयोजनाबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।