समाचार

बीस वर्ष पुराना ९४ सार्वजनिक सवारी जफत

काठमाडौँ । यातायात व्यवस्था विभागले २० वर्ष पुराना ९४ वटा सार्वजनिक सवारी जफत गरेको छ । चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत गरेका हुन् ।

प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो ।

विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी पत्रुका लागि निवेदन दिन व्यवसायीलाई सूचित गरेको थियो । त्यस अवधिमा १२७ सवारी पत्रु गर्न १४ अञ्चल कार्यालयमार्फत् विभागमा निवेदन प्राप्त भएको महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

देशभर २० वर्ष पुराना सवारीको संख्या १६ हजार ९६१ रहेको विभागले जनाएको छ । सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० वर्षे नियम लगाएको हो । निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी पनि हटाइनुपर्ने यातायात क्षेत्रका विकृतिविरुद्ध आवाज उठाइरहेका भक्तपुरका रामबहादुर थापाले माग गरे ।

निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी गुड्न निषेध नगर्दा सडकमा प्रदूषण कम हुन नसकेको उनले बताए । यातायात व्यवसायीको विरोधका बाबजुद विभागले सडकमा २० वर्ष पुराना सवारी गुडे÷नगुडेको निरीक्षणलाई निरन्तरता दिएको छ ।