पर्यटन/संस्कृति

ठमेल आसपास क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न माग

काठमाडौँ । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले ठमेल आसपासको क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न माग गरेको छ । गृहमन्त्रालयको आइतबारको बैठकले कान्तिपथबाट पर्यटकीय बसपार्क अन्यन्त्र सार्ने निर्णय गरेसँगै आज टिवानले एक विज्ञप्ति जारी गरी ठमेल आसपासमा बसपार्क निर्माण गर्न माग गरेको हो ।

टिवानका महासचिव कृष्ण आचार्यले कान्तिपथबाट दैनिक हजारौँ पर्यटकलाई आवतजावत गराउने पर्यटकीय बसलाई ठमेल वरपरको क्षेत्रमा बसपार्क निर्माण गर्नुपर्ने बताए । “सरकारले १५ लाख पर्यटक भित्र्याउने निर्णयअनुसार काम गरिरहेको बेला गृहमन्त्रालयको यो निर्णयले हामीलाई गम्भीर ध्यानाकर्षण गरेको छ,”– महासचिव आचार्यले भने ।

पर्यटक बसपार्कलाई ठमेल क्षेत्र आसपासबाट टाढा लगेमा नेपालको पर्यटन क्षेत्रको विकास हुन नसक्ने टिवानको भनाइ छ ।

झण्डै १०० को संख्यामा रहेको पर्यटकीय बस बिहान ७ बजे कान्तिपथबाट पोखरा, सौराहा र लुम्बिनीमा सञ्चालन हुँदै आएको छ ।