आर्थिक

औद्योगिक क्षेत्रको डिपिआर तयार हुँदै

भीमदत्तनगर । सरकारद्वारा घोषित प्रदेश नं ७ को एकमात्र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढेको छ ।

स्थानीय बेदकोट नगरपालिकामा रहेको दैजी छेलामा औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि एकचरणको काम सकिएको छ भने दोस्रो चरणका लागि टोली पुनः आउन लागेको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले बताए ।

डिपिआर तयार गर्न केही दिनअघि औद्योगिक क्षेत्र व्यवस्थापनले खटाएको परामर्शदाताको एक प्राविधिक टोली आएको थियो । “एक चरणमा टोली आएर फर्किएको छ ।” नगरप्रमुख चन्दले भने, “थप प्राविधिकसहित पुनः टोली आउने भनेको छ ।” उक्त क्षेत्रको २९३ बिघा जमिन कित्ताकाट भएको उक्त सरकारी जग्गालाई औद्योगिक क्षेत्र व्यवस्थापनका नाममा भोकाधिकार दिन मन्त्रिपरिषद्ले निर्णय गरेकाले औद्योगिक क्षेत्र स्थापना गरिने भएको प्रमुख चन्दको भनाइ छ ।

विसं २०५२ मा जिल्ला वन समन्वय समिति र साविकको दैजी गाविसको निर्णय बमोजिम दैजीका वडा नं ५ र ६ हाल बेतकोट नगरपालिकाको वडा नं २ र ३ को छेला आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने पहल शुरु भएको थियो । विसं २०५६ असारमा जिल्ला वन समन्वय समिति छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमिन उपलब्ध गराउन सहमत भएको थियो ।

छेला औद्योगिक क्षेत्रका लागि २०७१ पुसमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । वन मन्त्रालयको ढिलासुस्तीका कारण औद्योगिक क्षेत्र विस्तारमा ढिलाइ भएको कञ्चनपुर उद्योग वाणिज्य संघको भनाइ छ ।

वन विभागले जिल्ला वन कार्यालयसंग यसबारे विवरण माग गरेकामा सो प्राप्त भएको छैन । सरकारले २०७२ चैत १ गते औद्योगिक क्षेत्र स्थापना गर्न चार किल्ला तोकी घोषणा भएका जग्गाको नाप जाँच र सीमा छुट्याई क्षेत्रफल यकिन गर्न दिएको निर्देशनसँगै जिल्ला नापी कार्यालयले उक्त काम गरिसकेको छ ।

विसं २०७३ माघ १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम चार किल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ चुरे वनक्षेत्र, दक्षिणतर्फ चाँदनीफाँटा बस्तीको चार किल्लाभित्रको जनचेतना सामुदायिक वनको करिब २०० हेक्टर र बेतकोट सामुदायिक वनको करिब ४५० हेक्टरसमेत ९०० बिघा जग्गा कायम गरिएको हो ।

राष्ट्रिय योजना आयोगले औद्योगिक क्षेत्रको स्थापना कार्यलाई छिटो छरितो र व्यवस्थित गर्नका लागि १३औँ योजनामा उद्योग क्षेत्र प्राथमिकताको क्षेत्र भएको जानकारी गराएको बेतकोट नगरपालिकाका प्रमुख चन्दले बताए ।

दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायत १०० वटा उद्योग स्थापना गर्न सकिने छ ।

त्यसैगरी बेतकोट नगरपालिकाको टोलीले दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको छ ।

सरकारले दैजीछेलामा प्रदेश नं ७ स्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको भए पनि सरकारीस्तरबाटै ढिलाइ भइरहेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले औद्योगिक क्षेत्र स्थापनाका लागि संघले निकै कसरत गरेको बताए । “पटक–पटक उद्योग मन्त्री आउँदा यस विषयमा धेरै पहल भएको हो ।” उनले भने, “पछिल्लो समय हामीसित समन्वय अभाव छ ।”