देश

मातृशक्ति परिचालन र मदिरा व्यवस्थापन अभियान

काठमाडौँ । दीनदयाल अध्यात्म प्रतिष्ठानअन्तर्गत मुलुकभर मातृशक्ति परिचालन अभियान सञ्चालन गरिएको छ । स्वामी दीनदयालजी महाराजको संरक्षकत्वमा विष्णुप्रसाद अधिकारीको नेतृत्वमा पाँच सदस्यीय निर्देशन समिति र मीरा थापाको नेतृत्वमा १७ सदस्यीय परिचालन समिति, देवचुली–१४, नवलपुर गठन गरिएको छ ।

धार्मिक जागरणका माध्यमबाट आर्थिक उन्नतिका कार्यक्रम सञ्चालन गर्ने गराउने, वृद्धावस्थाका आमाबुवाको आत्मसम्मान तथा मन शान्तिका लागि आध्यात्मिक शिविर सञ्चालन गर्ने गराउने, स–साना बालबालिकाका लागि संस्कार सिकाउने चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, वैदेशिक रोजगारका लागि विदेश गएकालाई स्वदेशमै राख्न स्वरोजगारमुखी ग्रामीण विकासका कायक्रम सञ्चालन गर्ने गराउने तथा सामाजिक क्षेत्रमा आध्यात्मिक ज्ञानको प्रचारप्रसारलाई ग्रामीण क्षेत्रमा पु¥याउने अभियानको उद्देश्य छ ।

सन्तान भएर पनि टाढा गएका वृद्धवृद्धाको एक्लोपन हटाउन र तिनको घाउमा सानो मल्हमपट्टी गर्न सहयोग पु¥याउने विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्न अभियान सञ्चालन गरिने नेपाली ग्रामीण समाजमा पुगिरहने स्वामी दीनदयाल महाराजले बताए ।
बाँके, नवलपरासी, कास्की र काठमाडौँमा स्वामीले अर्बुद अस्पताल स्थापना र अन्य जागरणमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
यसैगरी जथाभावी जहीँतहीँ विनाअनुमति खुलेका वैध अवैध मदिरा व्यवसायका कारण बालबालिका–युवा–वृद्ध तथा मजदूरमा कुलत बढ्ने, पढाइ बिथोलिने, व्यवहार बिग्रने तथा हिंसा बढेर घर तथा सामाजिक वातावरण बिग्रने कुरामा गाउँ–नगरपालिका, राजश्व र प्रहरी प्रशासनको ध्यान जान नसेकेको जनाउँदै विराटनगरका साहित्यकार फणिराज नेपालको अध्यक्षतामा मदिरा व्यवस्थापन अभियान चलाइएको छ ।

हिंसाको मूल कारण नै मदिरा बेचबिखन र सेवन देखिनाका साथै जतातै पान–सूर्ती–चुरोट र मदिराका विज्ञापन र सूचनापाटीले गाउँनगरको सौन्दर्य बिगारेको र गाउँटोल जहीँतहीँ मदिरा पसल सञ्चालन हुँदा बेथिति बढी नागरिक स्वास्थ्य तथा सुरक्षा जोखिममा परेकाले अब मुलुकभर मदिरा व्यवस्थापन अभियान चालिने अध्यक्ष नेपालले बताए ।