आर्थिक

प्रदेश १ मा लगानी भित्रिने मुख्यमन्त्री राईको विश्वास

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गरेका छन् ।

लगानी बोर्ड र प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज यहाँ गरेको छलफल कार्यक्रममा उनले प्रदेश नं १ मा विदेशी तथा स्वदेशी लगानी भित्र्याउन सहज हुने गरी प्रदेश सरकारले ऐन कानून ल्याउन लागेको जानकारी पनि दिए ।

मुख्य मन्त्री राईले प्रदेश नं १ मा स्मार्ट सिटी, केवलकार तथा मोनो रेललगायतका पूर्वाधार बनाउन प्रदेश सरकारले सम्भाव्यता अध्ययन शुरु गरिसकेको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकार लगानीमैत्री वातावरण बनाई यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताए।

लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले सरकारले लगानीकर्तालाई सहज हुने गरी योजना बनाउन सुझाव दिएका थिए।

सो अवसरमा प्रदेश नं १ का मन्त्री, प्रदेश सदस्य, विभिन्न मन्त्रालयका सचिव तथा उद्योगी व्यापारीको सहभागिता रहेको थियो ।