आर्थिक

बाँसका मुढा बुन्ने सीप सिकेपछि आत्मनिर्भर बन्न थाले

अछाम । तुर्माखाँद गाउँपालिका रहफका दीपक रावल बाँसका मुढा बुन्ने सीप सिकेपछि आत्मनिर्भर बन्न थालेका छन् । उनी ४५ दिनको बाँसका मुडा बुन्ने तालीम लिएपश्चात व्यावसायिक रुपमा मुडा बुन्ने कार्यमा संलग्न भएका हुन् । दश कक्षा पास गरेका युवा दीपक पढाइ छाडेर बेकामे भई घरमा बसेका थिए तर रहरैमा ४५ दिने मुढा बुनाई तालीम लिएपछि भने उनमा व्यावसायिक रुपमै मुढा बुन्ने योजना बनेपछि आफूले सिकेको सीपको सदुपयोग गर्दै अहिले उनले मुढा बेचेरै मासिक रु छ हजार कमाउन थालेको बताएका छन् ।

आफ्नै गाउँमा पाइने बाँसको चोयाबाट फुर्सदको समयमा बाँसका मुडा बनाउने गरेको बताउने रावलले कम्तीमा महिनाको एक दर्जन मुढा बुन्ने गरेको र मुडा बिक्रीबाट मासिक कमाइ हुन थालेपछि हौसला थपिएको उल्लेख गरे । विगत दुई वर्ष अगाडिदेखि केही काम नगरी घरमा त्यतिकै बसिराखेका उनले आफूले सीप सिकेपछि काम गर्न जाँगर बढेको सुनाए ।

सीप सिकेर खुशी साथ जीवन बिताइरहेको दीपकले अहिले यसलाई व्यावसायिक रूप दिंदै गाउँमै खुद्रा पुलसमेत शुरु गरेका छन् । आफूले मुढा बेचेरै कमाएको पैसाबाट पसलमा सामान राखेको उनले बताए । युवाले सीप सिकेर आत्मनिर्भर बन्न सके विदेश धाउन नपर्ने उनको सुझाव छ ।