पर्यटन/संस्कृति

कालीगण्डकी किनारमा रहेको सिद्धगुफा ओझेलमा

पाल्पा । बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी किनारमा रहेको सिद्धगुफा प्रचारप्रसार र भौतिक संरचनाको विकास हुन नसक्दा आकर्षक पर्यटकीय गन्तव्य भएरपनि ओझेलमा परेको छ ।

धार्मिक र ऐतिहासिक महत्व बोकेको यस गुफा ऋषिमुनिको तपस्या गर्ने स्थलका रुपमा परिचित रहिआएको छ । कालीगण्डकी नदीको किनारामा रहेको यस गुफा शान्त र रमणीय गुफाभित्र अखण्ड धुनी, अखण्डदीप, रुद्री भइरहन्छ भने, शिव, गणेश, पार्वती लगायतका देवीदेवताका मूर्तिहरु स्थापना गरिएको छ । पाल्पा र स्याङ्जा जिल्ला जोडने राम्दी पुलदेखि दश मिनेट पैदल यात्रापछि गुफामा पुग्न सकिन्छ । सोही गुफामा कालीगण्डकी नदीमा स्नान गरी कार्तिक एकादशी, माघेसंक्रान्ति, शिवरात्रि, पितृमोक्ष, वैशाख एकादशीमा पूजा हुँदै आएको व्यवस्थापक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

लामो समय वर्षा हुन नसक्दा वैशाखमा यहाँ पानी माग्ने धार्मिक तथा सामाजिक परम्परासमेत रहेको छ । जसको व्यवस्थापन सिद्धगुफा धार्मिक पर्यटकीय क्षेत्र विकास समितिले गर्दै आएको छ । गुफामा सुनवीर माझी, तारापुरी, टीकाराम अधिकारी, नरभुपाल अधिकारी, नीलकण्ठ भट्टराईलगायत तपस्या गरी बसेको मन्दिरका व्यवस्थापक न्यौपानले बताए ।

मन्दिरकी सदस्य पार्वती भट्टराईका अनुसार मनोकामना पूरा हुने भएकाले दैनिक ५० देखि सयसम्म मानिस दर्शनका लागि आउने गर्दछन् । गुफा अवलोकन लागि स्वदेशी तथा विदेशी पर्यटकसमेत यस क्षेत्रमा पुग्न थालेपछि चहलपहल बढेको हो । धार्मिक पर्यटकका लागि धर्मशाला निर्माण कार्य अगाडि बढाए पनि बजेटको अभावमा निर्माण कार्य अधुरो रहेको छ । गुफाको तल्लो भागबाट कालीगण्डकी कोरिडोर विस्तार गरेकाले गुफा जोखिममा परेको भन्दै स्थानीय बासिन्दा चिन्तित भएका छन् ।