राजनीति

समृद्धिका लागि प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिँदै प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद् प्रदेश नं ४ समन्वय कमिटी र नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित ‘प्रदेश नं ४ मा विकासका सम्भावना’ विषयक विचारगोष्ठीमा उनले भौतिक पूर्वाधारको विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।

पर्यटन, कृषि, ऊर्जा र खनिजजस्ता प्राकृतिकजन्य वस्तु प्रदेशको मुख्य आम्दानीको स्रोत भएको बताउँदै उनले आवश्यक नीति निर्माण कार्य शुरु गरिनुका साथै समग्र देशको दीर्घकालीन योजना र विकासका लागि प्रदेश सरकार योजना आयोग बनाउने तयारीमा जुटेको बताए ।

“प्रदेश नं ४ को कूल भू–भागमध्ये ८६ प्रतिशत जमिन पहाड र हिमाली क्षेत्रमा पर्ने हुँदा सडक निर्माणमा बढी लगानी गरिने छ,” उनले भने, “आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तह केन्द्रसँग सडक सञ्जालमा जोडिने छन् ।”

प्रदेशको बाँझिएको लगभग ५० प्रतिशत उर्भर भूमिमा सिँचाइको व्यवस्था गरी कृषि उत्पादनमा वृद्धि गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरिने उनले बताए । आगामी दुई वर्षमा प्रदेशका सबै जनताका घरमा उज्यालो र पानीको धारा पु¥याइने उनको भनाइ छ ।

नेकपा (एमाले) सल्लाहकार परिषद्का उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले कोरलादेखि भैंसालोटन–सुस्ता सडक प्रदेश नं ४ को समृद्धिको आधार रहेको बताउँदै त्यसका लागि प्रादेशिक र संघीय सरकारको ध्यान जान जरुरी रहेको बताए ।

कार्यक्रममा बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष डा दिनेशचन्द्र देवकोटा, नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका सदस्यसचिव विधान आचार्य, परिषद्का प्रदेश संयोजक सीताराम घले परियार, प्राडा गणेशमान गुरुङ, स्थानीय तह निर्धारण समितिका पूर्वअध्यक्ष बालानन्द पौडेललगायतले रोजगारी सिर्जनाका माध्यमबाट आयातमा कमी ल्याउँदै निर्यातमा वृद्धि गर्नुपर्ने आजको चुनौती रहेको धारणा राखे ।