साहित्य

गजलः शिष्टता र कलात्मकतालाई ध्यान दिन आग्रह

काठमाडौँ। चालीसको दशकपछिका गजल राजनीतिक–सामाजिक रूपान्तरणका लागि लेखिनथालेको तर यसलाई अझै व्यापकरूपमा सामाजिकीकरण र सांस्कृतिकीकरण गरिनुपर्नेमा जोड दिइएको छ ।

साहित्य सन्ध्याको नियमित मासिक ३८२ औँ शृङ्खला गजलको चर्चासहित शनिबार भएको कविगोष्ठीमा गजलगो ललिजन रावलले गजल प्राविधिक विषय हो तर गायन मात्र चाहिँ गजल होइन, जे लेख्यो त्यही गजल हुँदैन भने ।

“गजलमा बहर र काफिया मिलेको हुनुपर्दछ, काफियाविना गजल हुँदैन । गजल सैद्धान्तिक ज्ञानका साथ लेखिनुपर्दछ । प्रेमका लागि, पीडा अभिव्यक्तिका लागि, सामाजिक रूपान्तरणका लागि गजल लेखिन्छ । लेखनमा शिष्टता, शालीनता, हार्दिकता र कलात्मकतालाई ध्यान दिनु आवश्यक छ किनभने गजल अभिव्यक्तिको कौशल पनि हो”, उनले भने ।

गोष्ठीमा मधु पोखरेल, लीलाराज दाहाल, मुकुन्द न्यौपाने, डा खेम दाहाल, गोपाल नेपाल, रामचन्द्र खतिवडा, डा विदुर चालिसे, ललिता दोषी, गङ्गा पौडेल, अच्युत घिमिरे, अमृता स्मृति, चूडा निर्भीक, सानु पहाडी, डम्बर पहाडी, कणाद महर्षि, ढुण्डिराज पोखरेल, रामबहादुर पहाडी, होमराज श्रेष्ठ, रचना दाहाल, तारा गाउँले, सुनिल पौड्याल, खेम नेपाली, रविमान लम्जेललगायतले आआफ्ना कविता, गीत, गजल र एलाक (एक लाइन कविता)वाचन गरेका थिए ।

वाचित सिर्जनामाथि समालोचक प्रा डा यादवप्रकाश लामिछानेले टिप्पणी गर्दै अबका सिर्जनाले हामी कस्तो समाजवाद चाहन्छौँ भन्ने खुट्याउन सक्नुपर्छ भन्ने विचार राखे । “हामी सबैको वैचारिक आन्दोलनको प्राप्ति गणतन्त्रमा हाम्रा सपना साकार हुनसकेका छैनन् तापनि आशावादी जीवनदृष्टि आवश्यक छ”, उनले भने ।

सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रवासमा रहेर नेपाली साहित्यको साधनामा समर्पित साहित्यकार इन्द्रबहादुर राई र स्वदेशमै नेपाली प्रगतिवादी साहित्यको उत्थानमा समर्पित पीताम्बर भण्डारीको हालै देहावसान भएकामा उहाँहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलल स्रष्टाले अहिले देखिएका सबैखाले समस्याप्रति सिर्जनाका माध्यमबाट खबरदारी गरिरहनुपर्दछ भने ।