शिक्षा

डिन डा बज्राचार्यको यसरी भयो निधन

काठमाडौँ । लुम्बिनी बौद्धविश्वविद्यालयका डिन डा भद्ररत्न बज्राचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको लुम्बिनीमा गए राति १ बजे उनको हृदयाघातका कारण निधन भएको विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले जानकारी दिए । उनका श्रीमती तथा दुई छोराछोरी छन् ।

त्रिभुवन विश्वविद्यालयमा करीव तीन दशकसम्म इतिहास विषयमा अध्यापन गरी पाँच वर्षदेखि डिनको भूमिका निर्वाह गर्दै आएका थिए । ललितपुर निवासी बज्राचार्यको पार्थिव शरीरलाई अहिले निवासस्थल सानेपा, ठूलोढुङ्गा ल्याइसकिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले जारी गरेको शोक वक्तव्यमा बज्राचार्यको निधनप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालयले परिपक्क अभिभावक गुमाएको र अपूरणीय क्षति भएको जनाइएको छ । विश्वविद्यालयले आज शोक मनाउन सम्पूर्ण कार्यालयमा बिदा दिएको छ ।