साहित्य

साझाका साहित्यिक पुस्तक बिक्री वृद्धि

विदुर, नुवाकोट । बजार प्रवद्र्धन गरेपछि साझा प्रकाशन, नुवाकोट शाखाले गत वर्षको भन्दा रु २० लाख बढी मूल्यका पुस्तक बिक्री गरेको छ ।

सो शाखाले स्थानीय तह, सामुदायिक र निजी विद्यालय तथा पुस्तकालयमा बजार प्रवद्र्धन गरेपछि बिक्री बढाएको हो । सो शाखाका प्रमुख कृष्ण न्यौपानेका अनुसार चालू आवको हालसम्म करिब रु ६० लाख बराबरको पुस्तक बिक्री भएकोे छ । सो शाखामा गत वर्षको यही अवधिमा करिव रु ४० लाखको पुस्तक बिक्री भएको थियो ।

सो प्रकाशनबाट प्रकाशित मदनमणि दीक्षितको ‘माधवी’, कृष्ण धराबासीको ‘राधा’, बिपी कोइरालाका उपन्यास, बालकृष्ण समको ‘माटोको माया’, विजय मल्लको ‘कोही किन बर्र्बाद होस्’ र पाठ्यक्रमसँग सम्बन्धित पुस्तक बढी बिक्री हुने गरेको पाइएको छ ।

कर्मचारीले प्रभावकारी काम नगर्दा र बजारले मागे जति पुस्तक नहुँदा साझा प्रकाशनका कतिपय जिल्लामा शाखा बन्द भए पनि नुवाकोटका कर्मचारीले बजार प्रवर्धन गरी बिक्री बढाएको सो संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए ।

शर्माले पछिल्ला समयमा साझाको प्रेस चालू गरी महत्वपूर्ण कृतिको आकर्षक कागजमा पुनःमुद्रण गरी शाखामा पठाएको जानकारी दिए ।