समाचार

विमान दुर्घटनाका मृतकको स्मृतिमा दीप प्रज्वलन

काठमाडौँ । युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा माइतीघर मण्डलामा आज साँझ दीप प्रज्वलन गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमबार अवतरणका क्रममा दुर्घटनामा परी ४९ को मृत्यु तथा २२ घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लायन्स क्लब अफ काठमाडौँ, लियो क्लब अफ काठमाडौँलगायत संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा दुर्घटनामा ज्यान गुमाएकाका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।

लियो क्लब नेपालका सदस्य सविन गर्तौलाले देशका विभिन्न क्षेत्रका दक्ष जनशक्ति तथा व्यवसायीको उक्त घटनामा मृत्यु भएकोमा दुःख व्यक्त गर्दै घाइतेको उचित उपचारको व्यवस्था गर्न आग्रह गरे ।