साहित्य

नेपाली लोक साहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी शुरु

पोखरा । नेपाली लोक साहित्य समाजबाटै हराउँदै गएको चासो र चिन्ता बढिरहेको अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजनामा आजदेखि पोखरामा नेपाली लोक साहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी शुरु भएको छ ।

समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोक साहित्यले मानिसलाई नैतिकताको बोध गराउँदै राष्ट्रिय एकताको भावना जगाउने काम गर्ने भए पनि पछिल्ला समयमा लोप हुँदै गएको वास्तविकतामा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले लोक साहित्यको जगेर्ना अपरिहार्य भएको बताउँदै नेपाली लोक साहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी आफैँमा महत्वपूर्ण रहेको उल्लेख गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले लोक साहित्य समाजको एउटा अत्यन्त महत्वपूर्ण पक्ष भएको बताउँदै यसको जगेर्ना अपरिहार्य भएको बताए ।

भोलिसम्म चल्ने गोष्ठीमा नेपाललगायत अमेरिका, भुटान, दार्जिलिङ, सिक्किम, आसाम, भारत, बंगलादेशका नेपाली लोक साहित्य विषयका अनुसन्धाताले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम संयोजक प्रा डा कुश्माकर न्यौपानेले जानकारी दिए ।

गोष्ठीमा जम्मा २१ वटा कार्यपत्र प्रस्तुत हुनेमा आज चारवटा कार्यपत्र प्रस्तुत भएको जानकारी दिँदै उनले आजको एक सत्रमा विभिन्न देशमा नेपाली भाषाको स्थिति सम्बन्धमा छलफल गरिएको बताए ।

कार्यक्रमका सभापति एवं नेपाली केन्द्रीय विभाग पृथ्वीनारायण क्याम्पसका प्रमुख सह प्रा कृष्णप्रसाद पौडेलका अनुसार लोकसाहित्य सम्बन्धमा स्कूल, कलेज र विश्वविद्यालयबाटै पठनपाठन, अध्ययन र अनुसन्धान कम हुँदै गइरहेको बताउँदै गोष्ठीमा लोक साहित्यका विभिन्न विधा सम्बन्धमा चर्चा गरिने बताए ।