राजनीति

प्रधानमन्त्रीद्वारा नगरप्रमुख चौधरीको अवस्थाबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिएका छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी उनले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उक्त अवसरमा प्रधानमन्त्रीले चौधरीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिए ।

“उपचार खर्च सरकारले व्यहोर्छ”, प्रधानमन्त्री ओलीले भने, “उहाँको उपचारमा कुनै पनि कसर बाँँकी नराखी उपचार गर्नुहोस् ।”

सोही अवसरमा उनले चौधरीको घटनाबारे निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताए । उनले घटनामा संलग्नलाई कानूनअनुसार कारवाही हुनेसमेत बताए ।

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा (एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा राजन भट्टराईसमेत अस्पताल गएका थिए ।

सोही अवसरमा चौधरीको उपचारमा संलग्न चिकित्सक डा प्रदीप थापासँग पनि प्रधानमन्त्री ओलीले जानकारी लिए ।

नगरप्रमुख चौधरीलाई अपरिचत समूहले गत फागुन २८ गते घरमा बसिरहेका बेला गोली र खुकुरी हानेका थिए ।