राजनीति

गणेश लामालाई रिहाई नगरे नेपाल बन्द गर्ने काँग्रेसको चेतावनी

धुलिखेल । गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

आज बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा दोहोरो झपड भएको हो । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।

जुलुस शुरु गर्नुअघि काँग्रेसका नेता कार्यकर्ताले गणेश लामालाई रिहाइ गर, प्रहरी दमन बन्द गरलगायतका नारा लगाएका थिए । झडपका क्रममा नेपाली काँग्रेसका करिब २० जना कार्यकर्ता घाइते भएको र उनीहरुको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताए ।

काँग्रेसका कार्यकर्ताले पार्टी कार्यालय गोदामचोकबाट चार दोबाटोसम्म आएर नाराबाजी गरेका थिए । सो क्रममा सडकमा करिब एक घण्टा सवारी आवागमनसमेत बन्द भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले राँके जुलुस निकाल्न खोजेपछि खोस्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको र भीडलाई हटाउने क्रममा अश्रुग्यास प्रहार गर्नुपरेको बताए ।

लामालाई गत बुधबार साँझ काठमाडौँको गौशालास्थित होटल पशुपति भिजनबाट प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने छ थान गोलीसहित पक्राउ गरेको थियो । लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए ।