समाचार

कैलाली बन्दबाट जनजीवन प्रभावित

धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको कैलाली बन्दका कारण आज जिल्लामा उद्योग, व्यवसाय, यातायात क्षेत्र ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

केही दिनअघि कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनालाई लिएर पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको दाबी गर्दै पक्राउ परेकालाई रिहाइ गर्नुपर्ने मागसहित विप्लव नेतृत्वको नेकपाले आज कैलाली बन्दको आह्वान गरेको हो ।

नगरप्रमुख चौधरीमाथि खुकुरी र गोली प्रहार गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उक्त पार्टीका कमल क्षेत्री, भरतबहादुर शाह, पूर्णप्रसाद खनाल र हृदयराज बोगटीलाई पक्राउ गरी तीन दिनअघि सार्वजनिक गरेको थियो । घटनामा घाइते नगरप्रमुख चौधरीको हाल काठमाडौँंमा उपचार भइरहेको छ ।